काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.७७ अंकले बढ्दै २,७३१.९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। अघिल्लो दिन बिहीबार भने नेप्से १०.०७ अंकले घटेर २,७३०.१७ विन्दुमा झरेको थियो।
आजको कारोबारमा ३३८ कम्पनीका ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर किनबेच भएका छन्। ४३ हजार ६७४ पटकको कारोबारमार्फत कुल तीन अर्ब नौ करोड ७९ लाख ५३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्य घटेको छ। २२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा ७ प्रतिशत नबिल डिबेञ्चर रहेको छ, जसको मूल्य ७.७१ प्रतिशतले बढेको हो। त्यसपछि मोदी इनर्जी, राष्ट्रिय बिमा कम्पनी, १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ र भिजन लुम्बिनी ऊर्जा कम्पनी का लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।
यता, सर्वाधिक गिरावट आउने कम्पनीमा युनियन हाइड्रोपावर, क्रेस्ट माइक्रोलाइफ, नेपाल रिपब्लिक, १० प्रतिशत एनआईएमबी डिबेञ्चर तथा एचएलआई लार्ज क्याप फन्ड रहेका छन्।
तपाईको प्रतिक्रिया