बिहीबार ७ जेठ २०८३
समाज

पूर्वमन्त्री राजकुमार गुप्तासँग ५० लाख धरौटी माग

बुधबार जेठ ६, २०८३/ Wednesday 05-20-26

काठमाडौँ । पोखराको लिचिबारी भ्रष्टाचार मुद्दामा कारागारमा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले नगद धरौटी, बैंक ग्यारेन्टी वा बराबरको जेथा जमानत पेश गरेर मुद्दाको पुर्पक्ष गर्न सकिने आदेश जारी गरेको हो ।

मंगलबार नै उक्त आदेश भए पनि धरौटी सम्बन्धी विवरण बुधबार निवेदक पक्षलाई जानकारी गराइएको जनाइएको छ ।

पूर्व सामान्य प्रशासनमन्त्री गुप्तालाई विशेष अदालतले २०८२ पुस १७ गते थुनामा राख्न आदेश दिएको थियो । त्यसयता उनी डिल्लीबजार कारागारमा रहेका थिए ।

यसैबीच, सर्वोच्च अदालतले पूर्वमन्त्री रन्जिता श्रेष्ठसम्बन्धी विशेष अदालतले २०८२ फागुन १० गते गरेको आदेशलाई पनि सदर गरेको छ ।

तपाईको प्रतिक्रिया