बुधबार १३ जेठ २०८३
राजनीति

प्रधानमन्त्री वालेन्द्र शाहले आज इयू राष्ट्रका कूटनीतिज्ञसँग संयुक्त संवाद गर्दै

मंगलबार जेठ १२, २०८३/ Tuesday 05-26-26

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ (इयू) अन्तर्गतका सदस्य राष्ट्रका गैरआवासीय राजदूत तथा विभिन्न कूटनीतिक मिसनका प्रमुखहरूसँग संयुक्त छलफल गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे हुने कार्यक्रममा इयूमा आबद्ध २२ राष्ट्रका प्रतिनिधिसहित दक्षिण–पूर्वी एशियाली मुलुकका गरी ३० भन्दा बढी कूटनीतिज्ञ सहभागी हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान राजनीतिक, आर्थिक तथा विकाससम्बन्धी प्राथमिकताबारे जानकारी गराइनेछ । साथै नेपाल र सम्बन्धित राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने, लगानी, विकास सहकार्य, व्यापार तथा विभिन्न क्षेत्रगत साझेदारी विस्तारका विषयमा केन्द्रित भएर छलफल हुने बताइएको छ ।

बैठकमा नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने विषय पनि उठाइने भएको छ । त्यस्तै, युरोपेली सङ्घको हवाई सुरक्षा सम्बन्धी ‘कालोसूची’बाट नेपाललाई हटाउन आवश्यक कूटनीतिक पहल तथा सहकार्यका विषयमा समेत विशेष चर्चा हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहले यसअघि गत चैत २५ गते पनि नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक संवाद गरेका थिए । सरकारले पछिल्लो समय अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, वैदेशिक लगानी प्रवर्द्धन तथा नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउने उद्देश्यसहित कूटनीतिक भेटघाटलाई तीव्रता दिएको छ ।

 

तपाईको प्रतिक्रिया