काठमाडौँ । बुधबार उच्च अंकले उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पुनः ओरालो लागेको छ। लगातार दोस्रो दिन वृद्धि कायम राख्न नसक्दा नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा बन्द भएको हो।
अघिल्लो दिन ३०.०८ अंकले बढ्दै २७५४.४८ विन्दुमा पुगेको बजारमा बिहीबार भने गिरावट देखिएको छ। यद्यपि कारोबार रकममा सामान्य सुधार आएको छ। बुधबार ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ८९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यसदिन ३४८ कम्पनीका ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर कारोबार भएका छन्। कारोबारमा सहभागी कम्पनीहरूमध्ये ७२ वटाको सेयर मूल्य बढ्दा १८८ वटाको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रभु बैंक डिबेन्चरको मूल्य सबैभन्दा धेरै ६.६२ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ११२ रुपैयाँ पुगेको छ। त्यस्तै, बुंगल हाइड्रोको सेयर मूल्य ६.१८ प्रतिशतले वृद्धि भई ७२५ रुपैयाँ कायम भएको छ।
यता, अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ। कम्पनीको मूल्य १४.९५ प्रतिशतले घटेर ४७७ रुपैयाँ ३० पैसामा झरेको छ। झापा इनर्जीको मूल्य पनि ८.१२ प्रतिशतले घट्दै प्रतिकित्ता १ हजार ४०४ रुपैयाँ ९० पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत अग्रस्थानमा रहेको छ। कम्पनीको १७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने प्रतिकित्ता मूल्य ३७३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा १.११ प्रतिशतले बढी हो।
यसैगरी, रिडी पावर दोस्रो धेरै कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको १५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने प्रतिकित्ता मूल्य ३५७ रुपैयाँ रहेको छ।
बिहीबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये केवल म्युचुअल फण्ड समूहको परिसूचक मात्र बढेको छ भने अन्य सबै समूहमा गिरावट देखिएको छ।
तपाईको प्रतिक्रिया