दुर्गा प्रसाईंलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं लाई जिल्ला अदालत पर्साले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। गत जेठ ५ गते वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईंलाई मंगलबार अदालतले हिरासतबाट छाड्न आदेश दिएको हो।
विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूर सम्बन्धी अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएका प्रसाईंलाई न्यायाधीश गायत्रीप्रसाद रेग्मी को एकल इजलासले साधारण तारेखमा छाड्न आदेश दिएको अदालत स्रोतले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको तथा राज्यविरुद्ध उक्साउने काम गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जनाएको थियो। तर अनुसन्धानका क्रममा ती आरोप पुष्टि हुने पर्याप्त आधार प्रस्तुत हुन नसकेको निष्कर्ष अदालतले निकालेको बताइएको छ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान नेपाल’का संयोजकसमेत रहेका प्रसाईं एक कार्यक्रमको तयारीका लागि वीरगञ्ज पुगेका बेला होटलबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो।
यसअघि सर्वोच्च अदालत ले पनि प्रसाईंलाई थप हिरासतमा नराख्न आदेश दिएको थियो। सर्वोच्चले अनुसन्धान निर्धारित म्यादभित्र टुंग्याएर कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको थियो।
प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेय को इजलासले म्याद थप नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो। त्यसपछि प्रहरीले उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो।
तपाईको प्रतिक्रिया