दिल्लीको जितसँगै आईपीएल लिग चरण सम्पन्न, कोलकाता ४० रनले पराजित
काठमाडौं। इन्डियन प्रिमियर लिग अन्तर्गत लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्स ले कोलकाता नाइटराइडर्स लाई ४० रनले पराजित गरेको छ। जित निकाले पनि दिल्ली भने प्लेअफ पुग्न असफल रहँदै प्रतियोगिताबाट बाहिरिएको हो।
इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रनको बलियो योगफल तयार पारेको थियो। दिल्लीका लागि केएल राहुल ले ६० रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।
२ सय ४ रनको लक्ष्यसहित मैदान उत्रिएको कोलकाताले सुरुदेखि नै दबाब झेल्नुपर्यो। ठूलो सट खेल्ने प्रयासमा नियमित विकेट गुमाएको कोलकाता १८ दशमलव ४ ओभरमै १ सय ६३ रनमा समेटियो।
यस खेलसँगै आईपीएल २०२६ को लिग चरणका सबै खेल सम्पन्न भएका छन्। अब प्लेअफ अन्तर्गत पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेता सिधै फाइनलमा पुग्नेछ।
यस्तै, इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन्। इलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्ने अवसर पाउनेछ।
तपाईको प्रतिक्रिया