बुधबार १३ जेठ २०८३
राजनीति

सरकारले बहुमतको दम्भ देखायो : कांग्रेस सचेतक बासना थापा

मंगलबार जेठ १२, २०८३/ Tuesday 05-26-26

काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बहुमतको दम्भमा अघि बढिरहेको आरोप लगाएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले सरकारले संसद् र संसदीय समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको टिप्पणी गरिन् । प्रतिपक्षी दलहरूले बैठकमा विरोध जनाइरहेका बेला सभामुख डोलप्रसाद अर्यालबाट समय लिएर उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् ।

थापाले संसद् केवल प्रतिपक्षको आवाज उठाउने थलो मात्र नभई सरकार पनि समान रूपमा उत्तरदायी हुनुपर्ने बताइन् । “म लोकतान्त्रिक मूल्य, जनमत र संसदीय मर्यादाको पक्षमा बोलिरहेकी छु,” उनले भनिन्, “संसद् संख्याको खेल मात्रै होइन, विचार, बहस र विमर्शको साझा मञ्च हो ।”

उनले प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार बहुमतको अहंकारमा चलेको आरोप लगाउँदै पछिल्ला गतिविधिले लोकतान्त्रिक व्यवस्थाको मूल मर्ममै आघात पुगेको दाबी गरिन् । “लोकतन्त्र संवाद, सहमति र सहकार्यबाट बलियो बन्छ,” थापाले भनिन्, “बहुमतलाई सर्वशक्तिमान ठानेर अघि बढ्दा अहंकार बढ्छ, र त्यस्तो प्रवृत्तिले कुनै पनि शासन प्रणालीलाई दीर्घकालीन सफलता दिन सक्दैन ।”

कांग्रेसले संसद्मा अवरोध सिर्जना गर्नका लागि अवरोध नगरेको स्पष्ट पार्दै उनले सरकारलाई साझा राष्ट्रिय एजेन्डामा सहकार्य गर्न आग्रह गरिन् । “कांग्रेस जनमतको सम्मान गर्दै सरकारलाई रचनात्मक सहयोग गर्न तयार छ,” उनले भनिन्, “तर सहकार्य एकतर्फी हुँदैन । सरकारमा विनम्रता, उत्तरदायित्व र जवाफदेहिता देखिनुपर्छ ।”

थापाले संसद्को गरिमा र लोकतान्त्रिक अभ्यास जोगाउने जिम्मेवारी केवल प्रतिपक्षको नभई सरकारको पनि भएको उल्लेख गरिन् । “बहुमतको बलमा होइन, विश्वासको आधारमा सरकार चलाउनुस्,” उनले आग्रह गर्दै भनिन्, “प्रतिपक्षलाई सुन्नुस्, लोकतान्त्रिक संस्कार अपनाउनुस् ।”

उनले सुशासन, स्थायित्व र समुन्नति दम्भबाट नभई संवाद, सहमति र पारदर्शिताबाट मात्र सम्भव हुने धारणा राखिन् । “लोकतन्त्र असहमतिको सम्मानबाट बलियो हुन्छ,” थापाले भनिन्, “यो सम्पूर्ण राजनीतिक दल र नागरिकको साझा चासोको विषय हो ।”

 

तपाईको प्रतिक्रिया