मंगलबार १२ जेठ २०८३
बिजनेस

अमेरिका–इरान शान्ति सम्झौताको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सोमबार जेठ ११, २०८३/ Monday 05-25-26

काठमाडौं । अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौताप्रति बढ्दो आशाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ । इरान तथा अमेरिका–इजरायलबीचको तनाव कम हुने संकेतसँगै एशियाली शेयर बजारमा भने उत्साह देखिएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको र छिट्टै विस्तृत जानकारी सार्वजनिक गरिने बताएका थिए । तर त्यसको भोलिपल्टै उहाँले वार्ता टोलीलाई सम्झौतामा हतार नगर्न निर्देशन दिनुभएको छ ।

आज एशियाली बजारमा विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य ५.५ प्रतिशतले घटेर प्रतिब्यारेल ९७.९० अमेरिकी डलरमा झरेको छ । ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ जलमार्ग पुनः सञ्चालनलाई सम्भावित सम्झौताको मुख्य एजेण्डामध्ये एक बनाइएको बताउनुभएको थियो ।

गत फेब्रुअरी २८ देखि शुरू भएको इरान र अमेरिका–इजरायलबीचको द्वन्द्वका कारण विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने हर्मुज जलमार्ग प्रभावित बनेको छ ।

शान्ति सम्झौताप्रतिको आशाले जापानको प्रमुख शेयर सूचक ‘निक्केई २२५’ पनि ३ प्रतिशतले बढ्दै पहिलो पटक ६५ हजार विन्दुमाथि पुगेको छ । आज सार्वजनिक बिदाका कारण बेलायत र अमेरिकाका ऊर्जा तथा वित्तीय बजार बन्द रहनेछन्।

इरानले अमेरिका र इजरायली आक्रमणको प्रतिशोधस्वरूप हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि मार्चयता विश्व ऊर्जा बजारमा तीव्र उतारचढाव देखिँदै आएको छ ।

अप्रिलको शुरूमा युद्धविराममा सहमति भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि निरन्तर वार्ता भइरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया