मीनबहादुर गुरुङले दान दिएको जग्गा एमालेले फिर्ता गर्ने
काठमाडौ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङ दम्पतीले पार्टी मुख्यालय निर्माणका लागि उपलब्ध गराएको जग्गा नलिने निर्णयतर्फ अघि बढेको छ। सोमबार बसेको सचिवालय बैठकमा उक्त जग्गा फिर्ता गर्ने विषयमा छलफल भएको जानकारी उपमहासचिव योगेश भट्टराईले दिएका छन्।
अब एमालेले नयाँ केन्द्रीय कार्यालय मदननगर, बल्खुमै निर्माण गर्ने तयारी गरेको छ। सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा कलंकीस्थित भवन निर्माणका लागि सहयोग गर्न चाहने मीनबहादुर गुरुङ र सावित्री गुरुङलाई धन्यवाद दिँदै उनीहरूको प्रस्ताव फिर्ता गर्ने उल्लेख गरिएको छ।
उपमहासचिव भट्टराईका अनुसार यसबारे अन्तिम तथा औपचारिक निर्णय भने शुक्रबार बस्ने सचिवालय बैठकले गर्नेछ।
यसअघि २०८१ असोज २५ गते तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा प्रस्तावित पार्टी मुख्यालय भवनको शिलान्यास गरेका थिए। गुरुङ दम्पतीले भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका थिए भने एमालेले सदस्यता शुल्क र सहयोगबाट भवन निर्माण गरिने बताएको थियो।
२०७२ सालको भूकम्पपछि मदननगर, बल्खुस्थित एमालेको पुरानो केन्द्रीय कार्यालय ध्वस्त भएको थियो। त्यसयता पार्टी विभिन्न स्थानमा भाडाको भवनमा सञ्चालन हुँदै आएको छ। हाल एमालेको केन्द्रीय कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति भवनमा रहेको छ।
यस्तै, व्यवसायीबाट प्राप्त दानमा पार्टी मुख्यालय निर्माण गर्ने निर्णयको विरोध गरेका नेताहरूलाई एमालेले यसअघि कारबाही पनि गरेको थियो। २०८१ पुसमा पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको थियो।
ती नेताहरूले व्यवसायी मीनबहादुर गुरुङले जग्गा दान गर्ने र भवनसमेत निर्माण गरिदिने प्रस्तावप्रति असहमति जनाएका थिए।
तपाईको प्रतिक्रिया