पार्टीको कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न उर्दी
काठमाडौँ। हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पार्टीका सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ ।
पार्टीको कोशी प्रदेश समितिले मातहतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा तथा टोलस्तरसम्मका कमिटीलाई पत्राचार गर्दै कार्यक्रमका ब्यानर, पोस्टर तथा अन्य प्रचार सामग्रीमा अध्यक्ष साम्पाङको तस्वीर राख्न अनिवार्य गरिएको जनाएको हो ।
कोशी प्रदेश अध्यक्ष प्रताप राई र सचिव दीपक तिमल्सिनाद्वारा जारी पत्रमा पार्टीभित्र सञ्चालन हुने सबै कार्यक्रमहरूमा “श्रम पिता” का रूपमा उल्लेख गरिएका अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।
पत्रमा भनिएको छ, “श्रम संस्कृति पार्टी १ नम्बर प्रदेश मातहत रहेका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलभित्र सञ्चालन हुने कार्यक्रमका ब्यानर तथा प्रचारप्रसार सामग्रीहरूमा श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङज्यूको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्नु/गराउनुहुन अनुरोध गर्दछौँ ।”
पार्टीको यो निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन् । केहीले पार्टीको नेतृत्व र पहिचानलाई सुदृढ बनाउन यस्तो निर्णय गरिएको बताएका छन् भने कतिपयले व्यक्तिपूजालाई प्रोत्साहन गर्ने शैली भएको टिप्पणी गरेका छन् ।
धरान उपमहानगरपालिकाका प्रमुखसमेत रहेका हर्क साम्पाङ पछिल्लो समय श्रम अभियान, खानेपानी आन्दोलन तथा स्वतन्त्र राजनीतिक गतिविधिका कारण चर्चामा रहँदै आएका छन् । उनी नेतृत्वको श्रम संस्कृति पार्टीले वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई विस्तार गर्ने प्रयास गरिरहेको छ ।
तपाईको प्रतिक्रिया