बुधबार १३ जेठ २०८३
समाज

खुर्कोट हिरासत मृत्यु प्रकरणमा १० प्रहरीमाथि कारबाही सिफारिस

मंगलबार जेठ १२, २०८३/ Tuesday 05-26-26

काठमाडौं। सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही सिफारिस गरिएको छ ।

सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विक हिरासतभित्र मृत अवस्थामा भेटिएपछि घटनाको छानबिनका लागि प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यको नेतृत्वमा समिति गठन गरिएको थियो । समितिले अनुसन्धानपछि विभिन्न तहका प्रहरी कर्मचारीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई चेतावनीसहित जिम्मेवारीबाट हटाउने, एक जनालाई नसिहत दिने तथा एक जनाको ग्रेड घटुवा गर्ने सिफारिस गरिएको छ ।

समितिले हिरासतमा रहेका व्यक्तिको सुरक्षा सुनिश्चित गर्न विशेष सतर्कता अपनाउन, ‘हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१’ पूर्ण रूपमा लागू गर्न तथा डिउटीका समयमा नियमित निगरानीलाई प्रभावकारी बनाउन सुझाव समेत दिएको छ ।

 

तपाईको प्रतिक्रिया