काठमाडौँ । नबिल बैंकले नेपाल र भारतबीच प्रत्यक्ष रूपमा रकम पठाउन तथा प्राप्त गर्न सकिने ‘क्रस–बोर्डर पर्सन–टु–पर्सन (पी२पी) रेमिट्यान्स सेवा’ सुरु गरेको घोषणा गरेको छ। नयाँ सेवामार्फत दुवै देशका ग्राहकले सुरक्षित डिजिटल माध्यमबाट तत्काल सीमापार कारोबार गर्न सक्ने बैंकले जनाएको छ।
बैंकका अनुसार नबिल बैंकमा खाता भएका भारतीय नागरिकले अब ‘एन बैंक’ मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका आफन्त तथा साथीभाइलाई सहज रूपमा रकम पठाउन सक्नेछन्। साथै, नेपाली र भारतीय नागरिकले नेपालमा रहेका नबिल बैंकका ग्राहकलाई छिटो र सरल तरिकाले पैसा पठाउन सक्ने सुविधा उपलब्ध गराइएको छ।
बैंकले यो सेवा नेपाल–भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउने उद्देश्यका साथ ल्याएको जनाएको छ। सीमापार वित्तीय कारोबारलाई सहज बनाउँदै ग्राहकको अनुभव सुधार गर्ने र डिजिटल बैंकिङको पहुँच विस्तार गर्ने लक्ष्य रहेको बैंकको भनाइ छ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले यस सेवाले नेपाल र भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार सेवा सञ्चालनले ग्राहकलाई छिटो, भरपर्दो र सहज कारोबारको सुविधा प्रदान गर्नेछ।
सेवाको प्रयोगका लागि निश्चित कारोबार सीमा पनि निर्धारण गरिएको छ। नेपालबाट भारततर्फ रकम पठाउँदा दैनिक अधिकतम १५ हजार भारतीय रुपैयाँ र मासिक अधिकतम १ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ। त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक २ लाख भारतीय रुपैयाँसम्म रकम पठाउन सकिने व्यवस्था गरिएको छ, जसमा मासिक सीमा लागू हुने छैन।
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) को सहकार्यमा सञ्चालन गरिएको हो ।
तपाईको प्रतिक्रिया