मंगलबार ५ श्रावण २०८३
खेलकुद

विश्वकप फाइनलको हाफटाइम इतिहासकै सबैभन्दा लामो हुने, विश्वप्रसिद्ध कलाकारको विशेष प्रस्तुति

आइतबार श्रावण ३, २०८३/ Sunday 07-19-26

काठमाडौँ ।स्पेन र अर्जेन्टिनाबीच आज राति १२:४५ बजे हुने फिफा विश्वकप २०२६ को फाइनलमा मध्यान्तर (हाफटाइम) प्रतियोगिताको इतिहासमै सबैभन्दा लामो हुने अपेक्षा गरिएको छ।

यसपटक फाइनलमा पहिलोपटक ‘सुपर बाउल’ शैलीको विशेष मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिएको छ। मध्यान्तरमा म्याडोना, शकिरा, जस्टिन बिबर र दक्षिण कोरियाली के–पप समूह बीटीएसले संयुक्त प्रस्तुति दिने कार्यक्रम तय भएको छ। यो प्रस्तुति न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुनेछ।

कार्यक्रमका लागि मञ्च तयार पार्न, प्रस्तुति सञ्चालन गर्न र दोस्रो हाफअघि सबै संरचना हटाउन अतिरिक्त समय लाग्ने भएकाले हाफटाइम २५ मिनेट वा त्योभन्दा बढी हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फिफाले भने मध्यान्तर कार्यक्रम करिब २० मिनेटको रहने जनाएको छ। तर तयारी र व्यवस्थापनका कारण समय केही लम्बिन सक्ने अनुमान गरिएको छ। विश्राम अवधि बढेमा खेलाडीहरूले दोस्रो हाफअघि पुनः वार्म–अप गर्नुपर्ने अवस्था आउन सक्छ।

यद्यपि खेलका नियम बनाउने इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड (आईएफएबी) का अनुसार खेलाडीलाई सामान्यतया १५ मिनेटभन्दा बढी विश्राम दिने व्यवस्था छैन।

यसअघि न्यु जर्सीमै सम्पन्न फिफा क्लब विश्वकपको फाइनलमा कोल्डप्ले, जे बाल्भिन, डोजा क्याट, टेम्स र इमानुएल केलीको प्रस्तुति समावेश हुँदा हाफटाइम २४ मिनेटसम्म लम्बिएको थियो।

 

तपाईको प्रतिक्रिया