शुक्रबार ८ श्रावण २०८३
अर्थ

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

शुक्रबार श्रावण ८, २०८३/ Friday 07-24-26

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि प्रदेशका सबै १३ जिल्लामा उद्योग प्रशासनसम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने तयारी गरेको छ।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका अनुसार हाल उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग दर्ता, नवीकरण, नामसारीलगायतका सेवा डिजिटल प्रणालीमार्फत प्रदान भइरहेको छ। यही प्रणालीलाई विस्तार गर्दै आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै जिल्लामा लागू गर्ने योजना बनाइएको मन्त्रालयका प्रवक्ता कुमार तामाङले जानकारी दिए।

मन्त्रालयले चितवन, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीस्थित उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालयका रूपमा घोषणा गरिसकेको छ। आगामी आर्थिक वर्षमा प्रदेशका सबै १३ कार्यालयलाई नमूना कार्यालयका रूपमा विकास गर्ने लक्ष्य राखेर आवश्यक बजेटसमेत विनियोजन गरिएको जनाइएको छ।

यसका लागि मन्त्रालयले नमूना कार्यालय व्यवस्थापनसम्बन्धी मापदण्ड पनि तयार गरिसकेको छ। मन्त्रालयका तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म प्रदेशभर मन्त्रालयअन्तर्गत चार हजार ९५६ उद्योग र दुई हजार ५५० वाणिज्य फर्म दर्ता भएका छन्।

यस्तै, बजारमा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया