काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पुनः हरियो भएको छ। साताको चौथो कारोबार दिन नेप्से १४.१७ अंकले उकालो लाग्दै २,७२६.७२ विन्दुमा पुगेको हो।
यसअघि साताको पहिलो दुई कारोबार दिन सोमबार र मंगलबार बजार बढेको थियो भने बुधबार १३.९५ अंकले घटेर २,७१२.५४ विन्दुमा झरेको थियो। मंगलबार नेप्से ७.२५ अंकले बढ्दै २,७२६.४९ विन्दुमा पुगेको थियो भने सोमबार ४१.७० अंकको उल्लेखनीय वृद्धि भएको थियो।
बिहीबार परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन ३३८ कम्पनीका १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँ पुगेको छ। बुधबार भने ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आजको कारोबारमा १५३ कम्पनीको सेयर मूल्य बढ्दा १११ कम्पनीको घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य १४.९९ प्रतिशतले बढ्दै सकारात्मक सर्किट नजिक पुगेको छ। त्यसपछि स्नो रिभर्सको सेयर १३.७१ प्रतिशत र अपोलो हाइड्रोपावरको ११.०४ प्रतिशतले उकालो लागेको छ।
यता, कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी घाटा बेहोरेका छन्। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि आँखुखोला जलविद्युतको २७ करोड, रिडी पावरको २४ करोड, सोलु हाइड्रोपावरको १७ करोड तथा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ इन्भेस्टमेन्ट र अन्य (अदर्श) समूहबाहेक सबै उपसूचक हरियो रहे। ट्रेडिङ समूहले सबैभन्दा बढी २.५८ प्रतिशतको वृद्धि दर्ता गरेको छ।
तपाईको प्रतिक्रिया