मंगलबार ५ श्रावण २०८३
शिक्षा

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूतबीच भेट

मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमबीच शिष्टाचार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार, प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन र सीपमूलक शिक्षाको विकासलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सरकारले विद्यालय शिक्षा सुधारका विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी दिए। उनले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन, व्यावहारिक तथा जीवनोपयोगी सीपमा आधारित शिक्षा, विद्यालय तहदेखि खेलकुदलाई पाठ्यक्रमसँग जोड्ने योजना तथा विद्यालय पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताए।

उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षक तालिम, विद्यालय स्वास्थ्य र पोषणका क्षेत्रमा अमेरिकी सहयोग र सहकार्यलाई अझ विस्तार गर्न सकिने धारणा राखे।

कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा र खेलकुद क्षेत्रको विकासमा अमेरिका सहकार्य गर्न प्रतिबद्ध रहेको बताउँदै सार्वजनिक विद्यालय सुधारका लागि नेपाल सरकारले अघि बढाएका कार्यक्रमलाई आवश्यक सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

अमेरिकाले युएसएडमार्फत नेपालमा प्रारम्भिक पठन–पाठन, सिकाइ सुधार तथा शिक्षा क्षेत्रका विभिन्न परियोजनामा लामो समयदेखि सहयोग गर्दै आएको छ।

 

तपाईको प्रतिक्रिया