शुक्रबार ८ श्रावण २०८३
समाज

बाल मन्दिर ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर

शुक्रबार श्रावण ८, २०८३/ Friday 07-24-26

काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर)सँग सम्बन्धित ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानका आधारमा अदालतमा अभियोग दर्ता गरिएको हो।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा नेपाल बाल संगठनका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य, युरी कुमारी राई तथा भगवान शाक्य, तत्कालीन कोषाध्यक्ष दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार रहेका छन्।

आठ प्रतिवादीमध्ये आशा श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्यलाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँकी पाँच जनालाई फरार प्रतिवादीका रूपमा मुद्दामा समावेश गरिएको छ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार उनीहरूमाथि ठगीको कसुरमा अभियोजन अघि बढाइएको हो।

यस प्रकरणको आधार बनेको प्रतिवेदन उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ सालमै सरकारलाई बुझाएको थियो। उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गत चैतमा गरेपछि सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको थियो। अनुसन्धान पूरा भएपछि संकलित प्रमाणका आधारमा अदालतमा मुद्दा दायर गरिएको हो।

तपाईको प्रतिक्रिया