जिल्ला प्रशासन कार्यालय बर्दियाले सार्वजनिक बिदाको दिन पनि राष्ट्रिय परिचयपत्र सेवा दिने
बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो चापलाई ध्यानमा राख्दै सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
कार्यालयका अनुसार अर्को सूचना जारी नभएसम्म शनिबार र आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नियमित रूपमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा उपलब्ध गराइनेछ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले पछिल्ला दिनमा राष्ट्रिय परिचयपत्रका लागि आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेको बताए। उनका अनुसार दैनिक १५० भन्दा बढी सेवाग्राहीले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिन कार्यालय पुग्ने गरेका छन्। यही कारण सार्वजनिक बिदामा पनि सेवा विस्तार गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
प्रशासनको यो निर्णयले सेवाग्राहीको भीड व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। साथै सार्वजनिक बिदाका दिन पनि सेवा उपलब्ध हुने भएपछि कामकाजीसहित सबै नागरिकलाई सहज हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि प्रशासनको यो कदमलाई सेवामुखी र स्वागतयोग्य निर्णयका रूपमा लिएका छन्।
तपाईको प्रतिक्रिया