स्पेनको शानदार जित, अस्ट्रियालाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश
काठमाडौं । मिकेल ओयार्जाबालको दुई गोल तथा पेड्रो पोरोको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतमा स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
लस एन्जलसमा सम्पन्न खेलमा युरोपेली च्याम्पियन स्पेनले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै सहज जित निकालेको हो। सन् २०१० मा विश्वकप जितेपछि स्पेनले पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो।
अब स्पेनले जुलाई ६ मा डलासमा हुने अन्तिम १६ को खेलमा पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खेलको पहिलो मिनेटदेखि नै स्पेनले दबाब सिर्जना गरेको थियो। लामिन यामालको प्रारम्भिक प्रहारले आक्रमणको संकेत दिएको थियो। केहीबेरपछि मार्क कुकुरेलाले कर्नरबाट गोल गरे पनि अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरमाथि फल भएको भन्दै रेफ्रीले गोललाई मान्यता दिएनन्।
३६औँ मिनेटमा कुकुरेलाको उत्कृष्ट पासलाई सदुपयोग गर्दै मिकेल ओयार्जाबालले गोल गरेपछि स्पेनले १–० को अग्रता लियो। जारी विश्वकपमा यो उनको तेस्रो गोल हो।
दोस्रो हाफको ६६औँ मिनेटमा एलेक्स बाएनाको क्रसमाथि पेड्रो पोरोले हेडिङमार्फत गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए। राष्ट्रिय टोलीका लागि पोरोको यो पहिलो गोल हो।
निर्धारित समय सकिन केही क्षण बाँकी रहँदा फेरि कुकुरेलाकै क्रसमा ओयार्जाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको ३–० को प्रभावशाली जित सुनिश्चित गरे।
अस्ट्रियाले पनि केही अवसर सिर्जना गरेको थियो। मार्सेल साबिट्जरका पासमा माइकल ग्रेगोरिट्स र वैकल्पिक खेलाडी सासा कालाजडिचले अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।
तपाईको प्रतिक्रिया