शुक्रबार १९ असार २०८३
राजनीति

संवैधानिक परिषद्को बैठक आज, विभिन्न संवैधानिक निकायमा नियुक्ति सिफारिसबारे छलफल हुने

शुक्रबार असार १९, २०८३/ Friday 07-03-26

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बेलुकी ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने जनाइएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आफूलाई बैठकमा सहभागी हुन बोलाइएको जानकारी दिएका छन्। परिषद्ले लामो समयदेखि रिक्त रहेका संवैधानिक निकायका पदपूर्तिका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।

हाल निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित दुई पद रिक्त छन्। राष्ट्रिय मानवअधिकार आयोगमा एक सदस्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक आयुक्त तथा राष्ट्रिय महिला आयोगमा एक सदस्यको पद खाली रहेको छ।

त्यस्तै राष्ट्रिय समावेशी आयोगमा अध्यक्षसहित दुई पद, मुस्लिम आयोगमा अध्यक्षसहित दुई पद, थारू आयोगमा अध्यक्षसहित दुई पद र मधेसी आयोगमा अध्यक्षसहित दुई पद रिक्त रहेका छन्।

यसबाहेक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद लामो समयदेखि खाली रहेकाले ती पदमा समेत नियुक्ति सिफारिसको विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।

तपाईको प्रतिक्रिया