कर्णाली घटनामा उद्धारमा ढिलाइ भएको भन्दै सरकारमाथि सांसद शाहीको आलोचना
काठमाडौं। राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने सरकारको दाबी व्यवहारमा लागू हुन नसकेको टिप्पणी गर्दै घटना भएको झण्डै २० घण्टा बितिसक्दा पनि उद्धारका लागि हेलिकप्टर परिचालन हुन नसकेको बताएका छन्।
शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो प्राथमिकता कुनै पनि नहुने उल्लेख गर्दै पीडित परिवार रातभर आफ्ना आफन्तको सकुशल उद्धारको प्रतीक्षामा बस्न बाध्य भएको तर राज्यको प्रभावकारी उपस्थिति अझै महसुस हुन नसकेको बताएका छन्।
उनले विपद् व्यवस्थापनका नाममा गरिएका प्रतिबद्धता भाषण र घोषणामै सीमित हुन नहुने भन्दै उद्धार कार्यमा सबै संयन्त्र र आवश्यक स्रोत–साधन तत्काल परिचालन गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, राजनीति होइन मानवताको पक्षमा उभिएर प्रत्येक क्षणको महत्व बुझ्दै प्रभावकारी उद्धार गर्न सरकारलाई अपिल गरेका छन्।
तपाईको प्रतिक्रिया