शुक्रबार १९ असार २०८३
समाज

स्वास्थ्य बिमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँ भुक्तानी

शुक्रबार असार १९, २०८३/ Friday 07-03-26

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

शुक्रबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, उक्त रकम भुक्तानी भएसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले पेश गरेका दाबीहरूको बक्यौता फर्छ्योट गरिएको छ।

बोर्डका अनुसार मंसिरपछि प्राप्त भएका दाबीहरूको भुक्तानीका लागि आवश्यक बजेटको व्यवस्थापन तथा स्वास्थ्य बिमा कार्यक्रमका लागि दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको छ।

यसैबीच, बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित नागरिकको उपचारमा कुनै अवरोध नआउने गरी तोकिएको मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरेको छ।

साथै, स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन बिमित सेवाग्राहीहरूलाई बिमा सुविधाको जिम्मेवारीपूर्वक उपयोग गर्न, अनावश्यक उपचार वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आवश्यकता भन्दा बढी परीक्षण वा उपचार गर्न दबाब नदिन पनि बोर्डले अपिल गरेको छ।

तपाईको प्रतिक्रिया