बिहीबार १८ असार २०८३
समाज

कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर

बुधबार असार १७, २०८३/ Wednesday 07-01-26

काठमाडौँ । विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई समयबद्ध, व्यवस्थित र एकरूप बनाउन परिमार्जित राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा आएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरलाई समयानुकूल संशोधन गरी स्वीकृत गरेको हो।

विश्वविद्यालय अनुदान आयोगले सबै विश्वविद्यालयसँगको समन्वयमा तयार गरेको उक्त क्यालेन्डरले भर्ना, अध्यापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनलगायत शैक्षिक गतिविधिलाई एउटै समयतालिकाअनुसार सञ्चालन गर्ने लक्ष्य राखेको छ।

मन्त्रालयका अनुसार स्वीकृत क्यालेन्डर कार्यान्वयनका लागि विश्वविद्यालय अनुदान आयोगमार्फत सबै विश्वविद्यालयलाई आवश्यक परिपत्र जारी गरिनेछ।

आयोगले एकीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू भएपछि विश्वविद्यालय शिक्षामा अनुशासन, नियमितता र गुणस्तरीय व्यवस्थापन कायम गर्न उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

सरकारको शासकीय सुधारसम्बन्धी सयदिने कार्ययोजनाको बुँदा नम्बर ८७ मा स्नातक र स्नातकोत्तर तहका परीक्षाको नतिजा मन्त्रालयले निर्धारण गरेको शैक्षिक क्यालेन्डरअनुसार सार्वजनिक गर्ने लक्ष्य समावेश गरिएको थियो। सोही लक्ष्यअनुसार आयोगमार्फत नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।

विश्वविद्यालय अनुदान आयोग ऐन, २०५० को दफा ६ को उपदफा (१) का सम्बन्धित व्यवस्थाअनुसार क्यालेन्डर कार्यान्वयन गरिने जनाइएको छ। आवश्यक परे अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिमका प्रावधानसमेत समावेश गरी विश्वविद्यालयलाई आवश्यक निर्देशन दिइनेछ।

आयोगका उपनिर्देशक रमेश प्रसाद अधिकारीका अनुसार संशोधित क्यालेन्डर लागू भएपछि देशभरका विश्वविद्यालयमा शैक्षिक गतिविधि पूर्वनिर्धारित कार्यतालिकाअनुसार सञ्चालन हुनेछन्, जसले शैक्षिक प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यसअघि २०८० साल भदौ २९ गते स्वीकृत राष्ट्रिय शैक्षिक क्यालेन्डर कार्यान्वयनमा रहेको थियो। बदलिँदो आवश्यकता र सुधारको आवश्यकतालाई ध्यानमा राख्दै आयोगले गठन गरेको परिमार्जन समितिको सिफारिसका आधारमा क्यालेन्डर संशोधन गरी मन्त्रालयबाट स्वीकृत गरिएको हो।

तपाईको प्रतिक्रिया