कीभ। युक्रेनको राजधानी कीभमा रुसले गरेको यस वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमणमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ९१ जना घाइते भएका छन्।
रोयटर्सका अनुसार रुसले एकै रात ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गर्दा करिब १३० भवनमा क्षति पुगेको छ। उद्धार टोली अझै भग्नावशेष हटाउँदै बेपत्ता व्यक्तिको खोजीमा रहेकाले मृतक संख्या बढ्न सक्ने आशंका गरिएको छ।
आक्रमणपछि राष्ट्रपति भोलोदिमिर जेलिन्स्की स्वदेश फर्किएका छन्। उनले सहयोगी राष्ट्रहरूले समयमै हवाई सुरक्षा प्रणाली उपलब्ध नगराएकाले क्षति बढेको आरोप लगाएका छन्।
रुसले भने सैनिक तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरेर आक्रमण गरिएको दाबी गरेको छ। घटनापछि कीभमा शोक दिवस घोषणा गरिएको छ भने संयुक्त राष्ट्रसंघ र युरोपेली संघले आक्रमणको निन्दा गर्दै रुसमाथि थप दबाब आवश्यक रहेको बताएका छन्।
तपाईको प्रतिक्रिया