काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घटेर २६५३.०८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ८.७८ अंकले बढेको बजार आज सामान्य उतारचढावबीच अन्ततः रातो अंकमा बन्द भएको हो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो रकम बढेर ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ। समग्र बजार ०.३१ प्रतिशतले घट्दा पनि फाइनान्स समूह १.०६ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी जलविद्युत् ०.१६ प्रतिशत, माइक्रोफाइनान्स ०.१५ प्रतिशत, व्यापार ०.५२ प्रतिशत तथा विकास बैंक समूह सामान्य ०.२९ अंकले बढेका छन्।
यता बैंकिङ समूहमा सबैभन्दा बढी दबाब देखिएको छ, जहाँ सूचक ०.९६ प्रतिशतले घट्यो। होटल तथा पर्यटन ०.३८ प्रतिशत, लगानी ०.६२ प्रतिशत, जीवन बीमा ०.७१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४४ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत र अन्य समूह ०.१३ प्रतिशतले ओरालो लागेका छन्।
व्यक्तिगत कम्पनीतर्फ सानीगढ हाइड्रोपावर, कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स र नेपाल फाइनान्सको सेयर मूल्य १५ प्रतिशतले वृद्धि भएको छ। खानीखोला हाइड्रोपावरको मूल्य ११.६३ प्रतिशत, उपकार लघुवित्तको १०.७९ प्रतिशत र माइखोलाको ५.३७ प्रतिशतले बढेको छ।
विपरीततर्फ अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्य १३.६५ प्रतिशतले घटेको छ। धौलागिरि लघुवित्त ११.२१ प्रतिशत र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ४.९७ प्रतिशतले ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा शुक्रबार एनआरएन इन्फ्रास्ट्रक्चर, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत् र ग्लोबल आईएमई बैंक सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।
तपाईको प्रतिक्रिया