शुक्रबार १९ असार २०८३
समाज

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

शुक्रबार असार १९, २०८३/ Friday 07-03-26

काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरण गर्न पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ।

बर्डफ्लु संक्रमण पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले रकमान्तर गरी उक्त बजेट विभागलाई हस्तान्तरण गरेको हो।

बर्डफ्लुका कारण आर्थिक क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन आवश्यक रकम माग गरेपछि मन्त्रालयले निकासा गरेको विभागले जनाएको छ। विभागका प्रवक्ता डा. मुकुल उपाध्यायका अनुसार प्रमाणित क्षतिको आधारमा प्रभावित किसानलाई भएको नोक्सानीको अधिकतम ७५ प्रतिशतसम्म क्षतिपूर्ति प्रदान गरिनेछ।

विभागका तथ्यांकअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्लामा संक्रमण फैलिएपछि करिब सात लाख पन्छी, ११ लाख अण्डा र तीन लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट करिब ७० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

‘बर्डफ्लु रोग नियन्त्रण (चौथो संशोधन) २०७४’ अनुसार प्रमाणित क्षतिको मूल्यांकनका आधारमा नष्ट गरिएका पन्छी, पन्छीजन्य पदार्थ तथा उत्पादन सामग्रीको मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने कानुनी व्यवस्था रहेको छ।

गत चैतदेखि पूर्वी नेपालबाट सुरु भएको बर्डफ्लु संक्रमण हाल ११ जिल्लामा फैलिएको विभागले जनाएको छ। भाइरसको स्वरूप परिवर्तन हुने जोखिमलाई ध्यानमा राख्दै थप संक्रमण रोक्न प्रभावित क्षेत्रमा पन्छी, अण्डा तथा दाना नष्ट गर्ने कार्य गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिए।

संक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउन विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष गठन गरेको छ। संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा रोग नियन्त्रणका गतिविधि निरन्तर सञ्चालन भइरहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया