भ्युजको लोभमा कलाकारिता बिर्सँदा फेरि विवादको केन्द्रमा दुर्गेश थापा
काठमाडौं। विवादबाट पाठ सिक्न नसक्ने कलाकारका लागि लोकप्रियता क्षणिक हुन सक्छ, तर त्यसको नकारात्मक प्रभाव लामो समयसम्म रहन्छ। पछिल्लो पटक फिल्म ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ओइ मास्टर्नी’ गीतका कारण गायक तथा मोडल दुर्गेश थापा फेरि विवादको केन्द्रमा परेका छन्।
गीतमा प्रयोग गरिएका द्विअर्थी शब्द, अश्लील संकेत र शिक्षक पात्रको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालदेखि शिक्षक समुदायसम्म तीव्र आलोचना भइरहेको छ। नेपाल शिक्षक महासंघले गीतले शिक्षक पेशाको गरिमामाथि प्रहार गरेको भन्दै आपत्ति जनाएको छ भने तनहुँका शिक्षक रमेशबहादुर भट्टराईले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गीतमाथि प्रतिबन्धको माग गर्दै निवेदन दिएका छन्।
गीतका ‘क, ख होइन अ, आ’ तथा ‘म्याथ सिक्ने भए…’ जस्ता शब्द र भिडियोमा देखाइएको प्रस्तुतीकरणलाई धेरैले मनोरञ्जनको सीमाभन्दा बाहिर गएर शिक्षकलाई वस्तुकरण गर्ने प्रयासका रूपमा टिप्पणी गरेका छन्।
दुर्गेश थापाको नाम यसअघि पनि विवादसँग जोडिएको थियो। त्यसबेला उनीमाथि सार्वजनिक रूपमा चर्को आलोचना भएको थियो र विभिन्न कार्यक्रम तथा कन्सर्टबाट समेत हटाइएको थियो। त्यस घटनापछि केही समय सार्वजनिक गतिविधिबाट टाढिएका उनी पुनः सांगीतिक क्षेत्रमा सक्रिय बनेका थिए। तर पछिल्ला गतिविधिले उनले विगतका विवादबाट अपेक्षित पाठ सिक्न नसकेको प्रश्न उठाएको छ।
कलाकारलाई सिर्जनात्मक स्वतन्त्रता हुन्छ। तर त्यो स्वतन्त्रता कुनै पेशा, समुदाय वा व्यक्तिको सम्मानमाथि प्रहार गर्ने माध्यम बन्नु हुँदैन। छोटो समयको भाइरलपन, भ्युज र चर्चाका लागि विवादास्पद सामग्री उत्पादन गर्ने प्रवृत्तिले अन्ततः कलाकारकै विश्वसनीयतामा चोट पुर्याउँछ।
फिल्म र संगीत उद्योगले दर्शकको ध्यान तान्न सस्तो विवादभन्दा गुणस्तरीय सिर्जनालाई प्राथमिकता दिन सके मात्र दीर्घकालीन सम्मान र विश्वास कायम रहन्छ। अन्यथा, केही दिनको ट्रेन्ड त मिल्ला, तर प्रतिष्ठामा लागेको दाग मेटाउन वर्षौं लाग्न सक्छ।
तपाईको प्रतिक्रिया