शुक्रबार ३० असोज २०८३
राजनीति

दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह

बिहीबार असोज २९, २०८३/ Thursday 10-15-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत प्राप्त गर्दैमा सरकारले गर्ने सबै निर्णय सही नहुने बताएका छन् ।

राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास भएको उनको भनाइ छ ।

सिंहले लोकतन्त्रमा बहुमतको शासन स्वीकार गरिए पनि बहुमतका आधारमा गरिने हरेक निर्णय स्वतः सही नहुने उल्लेख गरेका छन् ।

‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन । लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ,’ उनले भनेका छन् ।

उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा बहुमतको शासनसँगै त्यसलाई जवाफदेही बनाउने संयन्त्र पनि उत्तिकै आवश्यक हुन्छ ।

सरकारका निर्णयमाथि संसदीय समितिले निगरानी राख्नु लोकतन्त्रको सुन्दरता र संसदीय समितिको गरिमासँग जोडिएको विषय भएको उनले बताएका छन् ।

राजदूत नियुक्तिका लागि सरकारले गरेको सिफारिसमाथि संसदीय सुनुवाइ समितिले गर्ने परीक्षण र निगरानीलाई सिंहले लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउने अभ्यासका रूपमा व्याख्या गरेका छन् ।

 

तपाईको प्रतिक्रिया