गोरखा । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारस्थित दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको छ।
शुभसाइतअनुसार शनिबार बिहान ९ बजे विधिपूर्वक पूजाआजा गरी बाजागाजासहित फूलपातीको डोली बिदाइ गरिएको गोरखा दरबारका नायब सुब्बा हरि सारूले जानकारी दिए। गोरखा दरबारका सुसारेहरूले बोकेर ल्याएको डोली सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको उनले बताए।
परम्पराअनुसार गोरखाबाट पठाइएको फूलपाती शनिबार साँझ हनुमानढोका दरबारमा हर्षबढाइँसहित भित्र्याइन्छ।
ऐतिहासिक मान्यताअनुसार पृथ्वीनारायण शाहले काठमाडौँबाट राजकाज सञ्चालन गर्न थालेपछि गोरखा दरबारबाट प्रत्येक वर्ष फूलपाती पठाउने परम्परा सुरु भएको हो। यसले गोरखा दरबार र हनुमानढोका दरबारबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिँदै आएको छ।
बडादसैँको सातौँ दिन मनाइने फूलपातीलाई नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको परम्पराका रूपमा लिने गरिन्छ।
तपाईको प्रतिक्रिया