नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले पार्टी केन्द्रीय कार्यसमितिलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। समितिले आफ्नो खातामा मौज्दात रहेको रकमबाट पार्टीलाई उक्त रकम बराबरको चेक प्रदान गरेको हो।
नवनिर्वाचित नेतृत्वलाई पार्टी सञ्चालन तथा सङ्गठनात्मक गतिविधि अघि बढाउन आर्थिक स्रोतको अभाव नहोस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया सम्पन्न भएपछि खातामा बाँकी रहेको रकममध्येबाट उक्त रकम उपलब्ध गराइएको हो।
निर्वाचन समितिले महाधिवेशनका क्रममा सङ्कलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने प्रक्रिया भने अझै जारी रहेको स्पष्ट पारेको छ।
समितिका पदाधिकारीहरूले महाधिवेशन सम्पन्न गराउने क्रममा कुनै पनि व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा काम गरेको बताएका छन्। उनीहरूको निःस्वार्थ योगदानका कारण बचत भएको रकम पार्टीको सङ्गठन सुदृढीकरण र नयाँ नेतृत्वको कार्यसम्पादनमा सहयोग पुग्ने गरी हस्तान्तरण गरिएको समितिको भनाइ छ।
नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै निर्वाचन समितिले राजनीतिक तथा साङ्गठनिक अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न आर्थिक स्रोत आवश्यक पर्ने जनाएको छ।
सभापति गगनकुमार थापासहितको नवनिर्वाचित नेतृत्वलाई पार्टीको जिम्मेवारी सहज रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले १ करोड रुपैयाँ प्रदान गरिएको समितिले जनाएको छ।
तपाईको प्रतिक्रिया