यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले यमनको अदेनस्थित राष्ट्रपति भवन अल मासिक प्यालेसलाई लक्षित गरी पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। बिहीबार भएको उक्त आक्रमणमा प्रधानमन्त्रीको सुरक्षा टोलीका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
सीएनएनका अनुसार अदेन अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अन्तरिम राजधानी हो। आक्रमणका बेला प्रधानमन्त्री साया मोहसेन अल–जिन्दानीसहित केही मन्त्री राष्ट्रपति भवन परिसरमै रहेका थिए। उनीहरू सबै सुरक्षित रहेको जनाइएको छ।
यमनका स्वास्थ्य मन्त्री कासिम मोहम्मद बुहाइबेहका अनुसार मृत्यु हुनेमा सुरक्षाकर्मी तथा सरकारी परिसरमा कार्यरत कर्मचारीसमेत छन्। स्वास्थ्य मन्त्रालयले क्षेप्यास्त्र र ड्रोनमार्फत गरिएको हमलामा १६ जना घाइते भएको जनाएको छ।
हुथी विद्रोहीले भने राष्ट्रपति भवन परिसरभित्र रहेको साउदी सैन्य अभियान सञ्चालन केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। विद्रोही समूहले साउदी सैन्य उपस्थिति रहेका स्थानलाई निशाना बनाउने आफ्नो रणनीतिअनुसार हमला गरिएको जनाएको छ।
यो आक्रमण यमन सरकारले हुथी विद्रोहीविरुद्ध यसै महिनाको सुरुआतमा ‘यमेन्स डन’ नामक नयाँ सैन्य अभियान सञ्चालन गरेका बेला भएको हो। घटनालाई यमन सरकारविरुद्धका गम्भीर आक्रमणमध्ये एकका रूपमा हेरिएको छ।
हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी साना कब्जा गरेपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले अदेनलाई आफ्नो अन्तरिम राजधानीका रूपमा प्रयोग गर्दै आएको छ। त्यसयता साउदी अरबले हुथीविरुद्धको संघर्षमा यमन सरकारलाई सहयोग गर्दै आएको छ।
यमन सरकारले आक्रमणमा प्रयोग गरिएका क्षेप्यास्त्रको प्रकृति तथा राष्ट्रपति भवन परिसरमा भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन।
तपाईको प्रतिक्रिया