काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो. फिरदोस आलम सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिमतर्फको सहमहामन्त्री पदमा उनले ३ हजार ३४७ मत प्राप्त गर्दै विजयी भएका हुन्।
निर्वाचनमा उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरेका छन्।
फिरदोस २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित एक मात्र सांसद हुन्।
उनी पूर्वकांग्रेस नेता मोहम्मद आफताब आलमका छोरा हुन्। आफताब आलम रौतहटबाट पटक–पटक सांसद निर्वाचित भएका थिए। उनीमाथि २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इँटाभट्टामा लगेर जलाएको आरोप लागेको थियो।
यस प्रकरणमा जिल्ला अदालतले २०८१ वैशाखमा आफताब आलमलाई जन्मकैदको सजाय सुनाएको थियो। तर, २०८२ जेठमा उच्च अदालत जनकपुरले पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै उनलाई सफाइ दिएको थियो।
आफताब आलमको २०८२ कात्तिक २१ गते उपचारका क्रममा ६३ वर्षको उमेरमा काठमाडौँमा निधन भएको थियो।
तपाईको प्रतिक्रिया