डडेल्धुरामा बोलेरो जिप दुर्घटना : दुई जनाको मृत्यु, चालकसहित तीन जना घाइते
डडेल्धुरा। भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्र्याखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
आज बिहान करिब २ बजे धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुप्रप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप सडकबाट करिब ४ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।
घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का अमृत घरेडी रहेका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
तपाईको प्रतिक्रिया