आइतबार ३ श्रावण २०८३
राजनीति

कांग्रेसले बीपीको स्मृति दिवसमा जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

काठमाडौं । नेपाली कांग्रेसले संस्थापक नेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्ने भएको छ।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी ६ साउन ‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित ५ किलोमिटर दौड, प्यानल छलफल तथा लाइभ पेन्टिङ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिष्ठानका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहान ६ बजे ललितपुरस्थित यूएन पार्कबाट सुरु हुने दौड जावलाखेलमा पुगेर समापन हुनेछ। प्रतियोगितामा प्रतिस्पर्धात्मक र सहभागितामूलक दुवै स्वरूपमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ।

दौड सम्पन्न भएपछि बिहान ७ बजे जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी?’ विषयमा प्यानल छलफल आयोजना गरिनेछ। कार्यक्रममा जलवायु परिवर्तनका प्रभाव, चुनौती र समाधानका उपायबारे विभिन्न विज्ञहरूले आफ्नो धारणा राख्नेछन्।

यससँगै प्यानल छलफल चलिरहेका बेला सोही स्थानमा कलाकारहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौती र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्दै लाइभ पेन्टिङ पनि गर्ने कार्यक्रम रहेको दुलालले जानकारी दिए।

तपाईको प्रतिक्रिया