बिहीबार ३२ असार २०८३
समाज

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26

काठमाडाैं। कैलालीको गेटामा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले उपकुलपति र रजिष्ट्रार नियुक्त गरेको छ। विश्वविद्यालय सभाले योग्यताक्रममा पहिलो स्थानमा रहेका प्रा. डा. सुनिलकुमार जोशीलाई उपकुलपति तथा डा. भीमबहादुर चन्दलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले योग्यताक्रमसहितको प्रतिवेदन सहकुलपति तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत विश्वविद्यालय सभामा पेश गरेका थिए। त्यसपछि सभाले कानुनी व्यवस्थाअनुसार पहिलो नम्बरमा रहेका उम्मेदवारलाई नियुक्त गरेको हो।

नियुक्तिको जानकारी दिँदै मन्त्री पोखरेलले चिकित्सा क्षेत्रका विज्ञहरूको मूल्याङ्कनका आधारमा छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र योग्यतामुखी ढंगले सम्पन्न गरिएको बताए। उनका अनुसार सिफारिस समितिले प्राप्त मूल्याङ्कनका आधारमा योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको हो।

उनले नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसँगै शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालन हुने विश्वाससमेत व्यक्त गरे।

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने व्यवस्था छ। नियुक्तिसम्बन्धी बैठकमा सहकुलपति शिक्षा तथा खेलकुदमन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता सहभागी थिए।

को हुन् नवनियुक्त उपकुलपति?

उपकुलपतिमा नियुक्त प्रा. डा. सुनिलकुमार जोशीले ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। उनले स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयमा अध्यापन र अनुसन्धान गर्दै आएका छन्। यसअघि उनी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका संस्थापक कुलपतिका रूपमा पनि कार्यरत थिए।

जोशी अक्सफोर्ड विश्वविद्यालयसँग विभागीय सदस्यका रूपमा समेत आबद्ध रहिसकेका छन्। काठमाडौंको चाबहिल निवासी उनले एमडी, एमफिल, पीएचडी, पीजीडीडी र एफआरएसपीएचलगायत शैक्षिक उपाधि हासिल गरेका छन्। चिकित्सा शिक्षा, जनस्वास्थ्य तथा अन्तर्राष्ट्रिय अनुसन्धानका क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ।

रजिष्ट्रारमा डा. भीमबहादुर चन्द

रजिष्ट्रारमा नियुक्त डा. भीमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा र स्वास्थ्य प्रशासन क्षेत्रमा सक्रिय छन्। उनले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर तथा विद्यावारिधि गरेका छन्।

यसअघि उनी सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। बैतडीको पाटन नगरपालिका–१ स्थायी घर भएका चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यका रूपमा पनि काम गरिसकेका छन्। स्वास्थ्य सेवा व्यवस्थापन, नीति निर्माण र संस्थागत विकासका क्षेत्रमा उनको लामो अनुभव रहेको छ।

तपाईको प्रतिक्रिया