सञ्चारगृह अगाडि राखिएका गाडीको अनुसन्धान जारी, यातायातको सर्भर डाउनले विवरण खोजीमा ढिलाइ
काठमाडौं । राजधानीका तीन सञ्चारगृह अगाडि शंकास्पद रूपमा राखिएका गाडीको अनुसन्धान जारी रहेको छ। प्रहरीले गाडीमा कुनै विस्फोटक वा खतराजन्य सामग्री नभेटिए पनि सवारीधनीको पहिचान र घटनाको कारणबारे अनुसन्धानलाई निरन्तरता दिएको छ।
नयाँ बानेश्वरस्थित अनलाइनखबर, तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको गेट अगाडि शंकास्पद अवस्थामा गाडी राखिएको भेटिएपछि प्रहरीले सुरक्षा जाँच गरेको थियो।
काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रारम्भिक परीक्षणका क्रममा गाडीभित्र कुनै विस्फोटक वा अन्य खतराजन्य सामग्री फेला परेको छैन।
“गाडीमा कुनै खतराजन्य वा विस्फोटक सामग्री रहेको संकेत भेटिएन। आवश्यक सुरक्षा प्रक्रिया पूरा गरेपछि चारवटै पाङ्ग्रा उठाएर क्रेनको सहायताले गाडी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुझाएका छौं। अहिले सवारीधनीको विवरण खोज्ने काम भइरहेको छ र अनुसन्धान जारी छ,” एसपी भट्टराईले बताए।
प्रहरीका अनुसार गाडी कसले, किन र कुन उद्देश्यले सञ्चारगृह अगाडि छाडेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। गाडीको स्वामित्व पहिचान भएपछि सम्बन्धित व्यक्तिसँग आवश्यक सोधपुछ गरिने प्रहरीले जनाएको छ।
सवारीधनीको विवरण निकाल्ने क्रममा भने यातायात व्यवस्था कार्यालयको सर्भर डाउन हुँदा केही ढिलाइ भएको प्रहरीले जनाएको छ। गाडी छाडिएको समयमै सर्भरमा समस्या आएपछि तत्काल सवारी दर्ता विवरण प्राप्त गर्न कठिनाइ भएको थियो।
हाल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारीधनीको विवरण परीक्षण गरिरहेको छ। विवरण प्राप्त भएपछि गाडी धनीको पहिचान गरी घटनाको वास्तविक कारण पत्ता लगाउने प्रहरीको तयारी छ।
सञ्चारगृहजस्ता संवेदनशील स्थान अगाडि शंकास्पद रूपमा गाडी राखिएपछि प्रहरीले उच्च सतर्कता अपनाएको थियो। प्रारम्भिक सुरक्षा जाँचमा कुनै आपत्तिजनक सामग्री नभेटिए पनि घटनालाई गम्भीर रूपमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया