आइतबार ३ श्रावण २०८३
राजनीति

बागमती सरकारबाट एमाले बाहिरिने, मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने निर्णय गरेको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको हो।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारबाट तत्काल बाहिरिन मन्त्रीहरूलाई निर्देशन दिएको जानकारी दिएका छन्। केन्द्रमा कांग्रेस–एमाले सत्ता गठबन्धनमा आएको दरारपछि बागमती प्रदेशमा पनि यसको प्रभाव देखिएको हो।

कांग्रेसका इन्द्र बानियाँ नेतृत्वको बागमती प्रदेश सरकारमा एमालेका ६ मन्त्री सहभागी छन्। एमालेबाट कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसूदन पौडेल, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा तथा विनाविभागीय मन्त्रीहरू किरण थापा मगर, जयराम श्रेष्ठ र भरतबहादुर केसी रहेका छन्।

एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ मोड आउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया