बुधबार ३१ असार २०८३
अर्थ

सेयर बजारमा सामान्य अंकको सुधार, ८ अर्ब ४१ करोडको सेयर किनबेच

मंगलबार असार ३०, २०८३/ Tuesday 07-14-26

काठमाडौं । लगातार चार कारोबार दिन घटिरहेको नेपाली सेयर बजार मंगलबार सुधारिएको छ। साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको हो। यसअघि नेप्से लगातार चार कारोबारमा कुल ८१ अंकले घटेको थियो।

आजको कारोबारमा १६४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १०१ कम्पनीको मूल्य घटेको छ। नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

बजारसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। मंगलबार कुल ८ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ५३ हजार ८५४ पटकको कारोबारमार्फत खरिद–बिक्री भएका छन्।

आजको कारोबारमा कामना सेवा विकास बैंक डिबेन्चर, सांग्रिला बैंक डिबेन्चर, उपकार लघुवित्त, एनआईबीएल स्टेबल फन्ड र ज्योति विकास बैंक बन्ड उच्च प्रतिफल दिने शीर्ष कम्पनीमा परेका छन्।

समूहगत प्रदर्शनतर्फ उत्पादन तथा प्रशोधन समूह मात्रै ०.१८ प्रतिशतले ओरालो लागेको छ। अन्य सबै समूहको परिसूचक बढेको नेप्सेले जनाएको छ। तीमध्ये व्यापार समूह सबैभन्दा बढी १.४७ प्रतिशतले उकालो लागेको छ।

तपाईको प्रतिक्रिया