रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, झण्डै एक हजार बेपत्ता
काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
प्रहरीको पछिल्लो विवरणअनुसार रसुवामा ३, नुवाकोटमा १३, धादिङमा २७, चितवनमा ६४, गोरखामा १९, तनहुँमा ९ र नवलपरासी पूर्वमा २२ जनाको शव फेला परेको छ।
बाढीमा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचाररत घाइतेमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २०, ट्रमा सेन्टरमा ४, वीर अस्पतालमा ३, वीरेन्द्र सैनिक अस्पताल छाउनीमा १, नर्भिक अस्पतालमा ३ र त्रिशूली अस्पतालमा ९ जना छन्।
प्रहरीका अनुसार बाढीपछि झण्डै एक हजार जना बेपत्ता भएको अनुमान गरिएको छ। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
चीनतर्फबाट एक्कासि आएको भीषण बाढी रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको हो। बाढीका कारण रसुवा र नुवाकोटसहित त्रिशूली नदी आसपासका विभिन्न जिल्लामा जनधन तथा भौतिक संरचनामा व्यापक क्षति भएको छ।
नेपालमा ‘भोटेकोशी’ नामका दुई नदी छन्। सिन्धुपाल्चोकमा रहेको भोटेकोशी सुनकोशी नदीमा मिसिएर सप्तकोशी नदी प्रणालीको हिस्सा बन्छ भने रसुवाको भोटेकोशी त्रिशूली नदीमा मिसिन्छ।
रसुवाको भोटेकोशी नदी तिब्बतबाट आउने केरुङ खोला र ल्हेन्दे खोला रसुवागढी क्षेत्रमा मिलेपछि नेपालतर्फ भोटेकोशी नामले चिनिन्छ। पछिल्लो बाढी यही रसुवास्थित भोटेकोशी नदीमा आएको हो।
तपाईको प्रतिक्रिया