गरिमा चौधरीका बुवा–आमा गृहमन्त्रीसँग वार्ताका लागि काठमाडौं प्रस्थान
काठमाडौं ।बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका बुवा–आमा गृहमन्त्री सुधन गुरुङसँग छलफल गर्न शनिबार काठमाडौं प्रस्थान गरेका छन्।
गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी स्थानीय अभियन्ताहरूको टोलीसँगै शनिबार दिउँसो सिमरा विमानस्थलबाट काठमाडौंका लागि हिँडेका हुन्। उनीहरूले छोरीको हत्या घटनामा दोषीमाथि कडा कारबाही र न्यायको माग गर्दै गृहमन्त्रीसँग छलफल गर्ने बताइएको छ।
काठमाडौं प्रस्थान गर्नुअघि बुवा मनोजले गरिमाको न्यायका लागि स्थानीयस्तरमा जारी आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन्। उनले न्याय प्राप्त नभएसम्म आन्दोलन नरोक्न स्थानीय बासिन्दा तथा अभियन्ताहरूलाई अपिल गरे।
गरिमाको घटनालाई लिएर सिमरामा पछिल्लो समय स्थानीय बासिन्दा र अभियन्ताहरूले विरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने तथा पीडित परिवारलाई न्याय दिनुपर्ने माग राख्दै आएका छन्।
काठमाडौंमा हुने छलफलमा घटनाको अनुसन्धानको अवस्था, दोषीमाथि भइरहेको कानुनी प्रक्रिया तथा पीडित परिवारले उठाएका मागका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
गरिमाका अभिभावकले छोरीको हत्यामा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया