बिहीबार ११ भदौ २०८३
समाज

बाढीको प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक

बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनले चीनको तिब्बततर्फ नदी थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नखुलेकाले माथिल्लो भोटेकोशी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको जनाएको छ।

महाशाखाका अनुसार भोटेकोशी–त्रिशूली–नारायणी नदी प्रणालीमा निरन्तर निगरानी आवश्यक छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ।

घटनाक्रमअनुसार भदौ १० गते बिहान ८ः३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन भएको थियो। त्यसको केही समयपछि बिहान ८ः५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्याङ्क प्राप्त हुन बन्द भएको थियो।

बिहान ९ः०५ बजे तिब्बततर्फबाट ठूलो बाढी नेपालतर्फ प्रवेश गरेको सूचना प्राप्त भएपछि महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना तथा सतर्कता सन्देश जारी गरेको थियो।

प्रतिवेदनअनुसार बाढी बिहान १०ः२८ बजे धादिङको गल्छी आसपास, ११ः५० बजे मलेखु बजार, दिउँसो १ बजे मुग्लिन पार गर्दै ३ः२० बजे चितवनको देवघाट क्षेत्रमा पुगेको थियो।

बाढीको तीव्र बहावका कारण रसुवाको भोटेकोशी र स्याफ्रुबेँसी, नुवाकोटको बेत्रावती तथा धादिङको मलेखुस्थित जलमापन केन्द्रका उपकरणहरू बगाएका छन्। उपकरणहरू बगेपछि ती स्थानको यकिन जलसतह तथा बहावसम्बन्धी तथ्याङ्क प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।

यद्यपि, धादिङको कालीखोला जलमापन केन्द्रमा दिउँसो २ः१४ बजे जलसतहले १२.१ मिटरको खतराको तह पार गरेको थियो। त्यहाँ जलसतह अधिकतम १२.३ मिटरसम्म पुगेको रेकर्ड गरिएको छ।

महाशाखाले चीनतर्फ नदी थुनिएको स्थानमा बनेको तालको अवस्था अझै सामान्य भइनसकेको निष्कर्ष निकालेको छ। त्यसैले भोटेकोशी–त्रिशूली नदी प्रणालीमा जुनसुकै बेला थप पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया