आइतबार ७ भदौ २०८३
समाज

सिरहामा चार किलो काँचो मासुसहित दुई युवक पक्राउ

शनिबार भदौ ६, २०८३/ Saturday 08-22-26

सिरहा । सिरहाको औरही गाउँपालिकाबाट सशस्त्र प्रहरीले करिब चार किलो काँचो मासुसहित दुई युवक र मोटरसाइकल नियन्त्रणमा लिएको छ। बरामद मासु कुन जनावरको हो भन्ने यकिन भइसकेको छैन।

शुक्रबार साँझ करिब ५ः५० बजे औरही गाउँपालिका–५ स्थित गागन खोलामा मनोजकुमार चौधरीको कमान्डमा खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा औरही–५ मुस्लिम टोलका मोहतर खान र मो. अकरोज खान रहेका छन्। सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाका अनुसार शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको हो।

प्रहरीका अनुसार बरामद मासु भारतबाट लुकाइछिपाई नेपाल ल्याइएको हुनसक्ने प्रारम्भिक आशंका छ। जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी बासुदेव पाठकले मासु कुन जनावरको हो भन्ने यकिन गर्न परीक्षणका लागि माडरस्थित क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको बताए।

क्वारेन्टाइनबाट परीक्षण रिपोर्ट आएपछि मात्रै घटनामा मुद्दा चलाउने वा नचलाउनेबारे निर्णय गरिने प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया