बिहीबार ११ भदौ २०८३
समाज

रसुवागढी–ग्याइरोङ बाढीबारे फैलिएका ‘फेक न्युज’को चिनियाँ दूतावासद्वारा खण्डन

बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26

काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा आएको बाढी तथा पहिरोबारे सामाजिक सञ्जालमा फैलिएका केही दाबी र समाचार भ्रामक तथा असत्य रहेको स्पष्ट पारेको छ।

दूतावासले आधिकारिक धारणा सार्वजनिक गर्दै चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको तथा चीनतर्फको पूर्वाधार वा बाँध फुटेका कारण बाढी आएको भन्ने दाबीको खण्डन गरेको हो।

दूतावासका अनुसार अगस्ट २६ अर्थात् भदौ १० गते बिहान नेपालतर्फ गएको भूकम्प वा भूकम्पजस्तै हिमपहिरोका कारण ठूलो मात्रामा लेदो र पहिरो खसेको थियो। त्यसबाट ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति हुनुका साथै नागरिकहरू सम्पर्कविहीन भएको दूतावासले जनाएको छ।

विपद्को यस्तो कठिन परिस्थितिमा आरोप–प्रत्यारोपले समस्या समाधान नगर्ने भन्दै दूतावासले आपसी सहकार्य र समन्वयमार्फत खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

दूतावासले भनेको छ, “आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ।” सीमा क्षेत्रका दुवैतर्फका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल र चीनबीच समन्वय र सहयोगलाई प्राथमिकता दिनुपर्ने उसको भनाइ छ।

 

तपाईको प्रतिक्रिया