समाज
भोटेकोसी बाढीपहिरोमा सयौंको संख्यामा सवारीसाधन अलपत्र, दर्जनौँ बस सम्पर्कविहीन
बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26
काठमाडौं । रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोका कारण देशभर यातायात सेवा प्रभावित भएको छ। विभिन्न सडकखण्ड अवरुद्ध हुँदा करिब ८०० देखि १ हजारसम्म सवारीसाधन फसेका वा डुबेका छन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार गोसाईंकुण्ड गएका १८ देखि २० वटा यात्रुवाहक बस सम्पर्कविहीन छन्। ती बसमा रहेका यात्रुहरूको अवस्थाबारे यकिन विवरण आउन सकेको छैन।
महासंघका अनुसार पोखरा र गोरखाबाट गएका केही सवारीसाधनका यात्रुसमेत सम्पर्कविहीन छन्। बाढीपहिरोका कारण करिब ३०० यात्रुवाहक बससहित ठूलो संख्यामा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
उद्धार तथा राहतमा समन्वय गर्न महासंघले आज आपत्कालीन बैठक बोलाएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा प्रशासनसँग समन्वय नगरी आफूखुसी सवारीसाधन नचलाउन व्यवसायी र चालकलाई अपिल गरेको छ।
तपाईको प्रतिक्रिया