त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धार तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन
रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले खोज तथा उद्धार अभियान तीव्र पारेको छ। दुई दिनदेखि जारी उद्धार प्रयासअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाएर भित्र जाने बाटो खुलाउने कामलाई तीव्रता दिइएको हो।
उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। शुक्रबार रातिदेखि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका २० जनासहित ८२ जना सुरक्षाकर्मी निरन्तर उद्धार कार्यमा खटिएका छन्।
तर, प्रतिकूल मौसम, सुरुङको मुखमा थुप्रिएको लेदो र भग्नावशेषका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन्।
यसैबीच, उद्धारमा सहयोग गर्न नेपाल आएको भारतीय टोली त्रिशूली पुगेको छ। टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रमा प्रारम्भिक हवाई अनुगमन गर्ने तयारी गरेको छ।
हवाई अनुगमनबाट प्राप्त विवरणका आधारमा घटनास्थलको अवस्थाबारे मूल्यांकन गरी आवश्यकताअनुसार थप खोज तथा उद्धार अभियान सञ्चालन गरिने बताइएको छ।
सरकारले सुरुङभित्र फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर अभियान जारी राखेको जनाएको छ।
तपाईको प्रतिक्रिया