प्रधानमन्त्री शाहको अपडेट : बाढी प्रभावितको उद्धारदेखि राहतसम्म सरकारको यस्तो छ पछिल्लो विवरण
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सरकार उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा पूर्ण क्षमताका साथ जुटिरहेको बताएका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार शनिबार साँझ साढे ५ बजेसम्म बाढी प्रभावित क्षेत्रबाट ७ हजार ५१४ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरिएको छ। विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको समेत उद्धार भइसकेको जनाइएको छ।
उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका १६ हेलिकप्टरले २३६ उडान गरिसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धारमा भारतीय र चिनियाँ विज्ञहरूले समेत नेपाली सेनासँग समन्वय गरी सहयोग गरिरहेका छन्।
६७५ शव फेला
सरकारका अनुसार रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा तथा नवलपरासी पूर्व–पश्चिमका विभिन्न स्थानबाट हालसम्म ६७५ वटा शव फेला परेका छन्। पहिचान भएका शव परिवारलाई बुझाउने र पहिचान हुन नसकेका शवलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थापन गर्ने काम भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
३ हजार ५०० विस्थापितका लागि अस्थायी आवास
बाढीबाट विस्थापित करिब ३ हजार ५०० नागरिकलाई विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवामा ३ र नुवाकोटमा १५ वटा राहत शिविर सञ्चालनमा ल्याइएको छ।
सरकारले प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिसकेको जनाएको छ।
राहत कोषमा ५ अर्बभन्दा बढी जम्मा
प्रधानमन्त्री राहत कोषमा शनिबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको जनाइएको छ। यस्तै, हिमालयन र लक्ष्मी बैंकमा १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ।
सरकारले आर्थिक सहयोग गर्दा आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप कोष तथा प्रधानमन्त्री कोषको खाता र सरकारले सार्वजनिक गरेको क्यूआर कोड मात्रै प्रयोग गर्न आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता
बाढी प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाबाट आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ। एडीबीबाट ५ मिलियन अमेरिकी डलर अनुदान, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकाबाट ५ लाख र अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्री शाहले बताएका छन्।
भारतबाट तीन चरणमा ५७.५ टन मानवीय सहायता तथा औषधि प्राप्त भइसकेको छ भने चीन र अमेरिकाबाट थप सहायता आउने क्रममा रहेको जनाइएको छ।
रसुवा सडक सञ्जालमा जोडियो
बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग मर्मत गरी साना चारपाङ्ग्रे सवारी सञ्चालनमा ल्याइएको छ। काठमाडौं–टोखा–छहरे हुँदै धुन्चे जोड्ने वैकल्पिक सडक खुलेसँगै रसुवा पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको सरकारले जनाएको छ।
यस्तै, गल्छी–मलेखु सडकखण्डको लेदो हटाएर पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइएको तथा धादिङबेसी जोड्ने वैकल्पिक सडकसमेत सञ्चालनमा आएको छ।
प्रधानमन्त्री शाहले विपद्को समयमा सही र तथ्यपरक सूचना प्रवाह गरी पीडितको मनोबल बढाउन आमसञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेका छन्। उनले उद्धार तथा पुनःस्थापनाको काम नतिजा नआएसम्म निरन्तर जारी रहने बताएका छन्।
तपाईको प्रतिक्रिया