काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रभावित आयोजनामा कार्यरत ८९८ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
हालसम्म ३६१ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सबैभन्दा ठूलो संख्या २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका २५४ जना कर्मचारी तथा श्रमिक रहेका छन्।
उक्त आयोजनाको सुरुङभित्र अझै करिब ३०० जना फसेको अनुमान गरिएको छ। उनीहरूको उद्धारका लागि चीनबाट प्राविधिक तथा विज्ञ टोली नेपाल आएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ बीबाट ९१ जना र लाङटाङ खोला आयोजनाबाट १८ जनाको उद्धार गरिएको छ।
बाढीले रसुवाका सात र नुवाकोटका छ जलविद्युत् आयोजना प्रभावित पारेको छ। आयोजना क्षेत्रमा ठूलो क्षति भएकाले सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी र सुरुङभित्र फसेकाहरूको उद्धारलाई प्राथमिकतामा राखिएको छ।
तपाईको प्रतिक्रिया