आइतबार १४ भदौ २०८३
समाज

६० घण्टापछि टिमुरेबाट ६ वर्षीया बालिकाको जीवितै उद्धार

शनिबार भदौ १३, २०८३/ Saturday 08-29-26

रसुवा । रसुवाको टिमुरे क्षेत्रबाट बाढीमा फसेकी ६ वर्षीया बालिकाको करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।

बुधबार बिहान तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवागढी हुँदै टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो। सोही बाढीमा परेकी बालिकालाई शुक्रबार साँझ सशस्त्र प्रहरी बलको उद्धार टोलीले जीवितै फेला पारेको हो।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी गएको झन्डै ६० घण्टापछि बालिकाको उद्धार सम्भव भएको हो। बाढीले थुपारेको चट्टान र काठको थुप्रोभित्रबाट उनलाई सुरक्षित निकालिएको उनले जानकारी दिए।

उद्धार गरिएकी बालिकाको पहिचान भने खुल्न सकेको छैन। उनलाई बोर्डर आउटपोस्ट टिमुरेबाट करिब २०० मिटरको दूरीमा फेला पारिएको हो।

उद्धारपछि बालिकालाई सुरक्षित स्थानमा राखिएको छ भने सशस्त्र प्रहरीको टोलीले प्राथमिक उपचारसमेत गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया