आइतबार १४ भदौ २०८३
राजनीति

टनेल रेस्क्युका लागि भारत र चीनसँग सहयोग मागियो, १८७ विदेशी नागरिकको उद्धार

शनिबार भदौ १३, २०८३/ Saturday 08-29-26

काठमाडौं । सरकारले विपद्मा परेकाको उद्धारका लागि आवश्यक ‘टनेल रेस्क्यु’ (सुरुङ उद्धार) मा सहयोग गर्न भारत र चीनसँग आग्रह गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार भारतीय उद्धार टोली नेपाल आइसकेको छ भने चिनियाँ टोली पनि नेपालतर्फ आउने क्रममा छ।

शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले नेपालले आवश्यकता र परिस्थितिका आधारमा मात्रै विदेशी विशेषज्ञ टोलीको सहयोग लिइरहेको बताए।

उनले पछिल्लो प्राकृतिक विपद्ले हिमालयन पारिस्थितिक प्रणालीमा गम्भीर असर पारेको उल्लेख गर्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायलाई एकजुट हुन आह्वान गरे। विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान करिब ०.०१ प्रतिशत मात्रै भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष र गम्भीर असर नेपालले भोगिरहेको उनको भनाइ थियो।

विपद् व्यवस्थापन तथा पूर्वसूचना प्रणालीका विषयमा मन्त्री खनालले चीनसँगको समन्वयमा संयन्त्र निर्माणको प्रक्रिया अघि बढिरहेका बेला पछिल्लो विपद् आएको जानकारी दिए। चीनतर्फ समेत ठूलो क्षति भएको र दुवै देशका अधिकारीबीच निरन्तर सूचना आदानप्रदान भइरहेको उनले बताए।

खनालका अनुसार विपद्मा परेका १८७ जना विदेशी नागरिकको उद्धार भइसकेको छ। उद्धार गरिएकामध्ये ११४ जना भारतीय, २७ जना चिनियाँ र २० जना कोरियाली नागरिक छन्। अझै ४२० जना विदेशी नागरिक बेपत्ता रहेको र उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया