शनिबार १० असोज २०८३
राजनीति

वर्षाका कारण कांग्रेसका क्षेत्रीय अधिवेशन प्रभावित

शुक्रबार असोज ९, २०८३/ Friday 09-25-26

काठमाडौं । लगातारको वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन प्रभावित भएका छन्।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मौसमको अवस्थालाई ध्यानमा राख्दै अधिवेशन सञ्चालन गर्न निर्देशन दिएको छ। समितिका अनुसार ६६ जिल्लाका ६३० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ।

भारी वर्षाका कारण विभिन्न स्थानमा अधिवेशन प्रक्रिया प्रभावित भएको जानकारी प्राप्त भएपछि मौसमको अवस्था हेरेर निर्णय गर्न समितिले सम्बन्धित निकायलाई भनेको हो।

असोज १० गतेका लागि निर्धारित प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मौसम अनुकूल रहेका क्षेत्रमा तोकिएकै मितिमा सम्पन्न गर्न निर्देशन दिइएको छ।

मौसम प्रतिकूल रहेका क्षेत्रमा भने सम्बन्धित जिल्ला तथा क्षेत्रका पार्टी कार्यसमितिसँग समन्वय गरी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिएको छ। 

 

तपाईको प्रतिक्रिया